
पाल्पा । पाल्पाकाे सदरमुकाम तानसेनमा खानेपानीको समस्या भएको दशकौं भइसकेकाे छ ।
पानीको पर्याप्त स्रोत नहुँदा तानसेनवासीले धाराको पानीका लागि हप्ता–दश दिनसम्म पर्खनु पर्ने बाध्यता भएकाे हाे । हरेक निर्वाचनमा तानसेनको पानी मुख्य मुद्दा बनाउने नेताहरु निर्वाचनपछि वर्षाको भेल सुके जस्तै हराउने नियति छ । टयांकरले धानेको तानसेनको खानेपानी समस्या कहिले समाधान हुने हो थाहा छैन ।
नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ । तर पाल्पाको सदरमुकाम र पुरानो नगरपालिका तानसेनका वासीन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।
करिब ५० हजार जनसंख्या रहेको तानसेनमा दैनिक २० लाख लिटर पानीको आवश्यकता पर्दछ भने अहिले आधा मात्र पानीको आपूर्ति हुने गरेको छ । अध्ययनका लागि तानसेनमा डेरा गरी बस्ने विद्यार्थीलाई लुगा धुन, नुहाउन आफ्नै गाउँ पुग्नुपर्छ वा बजार भन्दा टाढाको धारामा पूरा दिन कटाउनुपर्छ । भाडामा बस्नेलाई घरबेटीले पानी दिन दुःख मान्छन् । २/३ ग्यालेन मात्र पानी पाउने गरेको उनीहरुको गुनासो छ ।
पाल्पा सदरमुकाम तानसेनमा जाडो–गर्मी बाह्रैमास खानेपानीको अभाव हुन्छ । गर्मीयाममा नजिकका ढुंगेधाराहरू पनि सुक्ने भएकाले समस्या झन विकराल बन्ने गरेको छ । साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पानी वितरण व्यवस्थापनको जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गरेसँगै वितरण प्रक्रिया झन अव्यवस्थित भएको नगरवासी बताउँछन् ।
हप्ता दिनमा धारामा पानी आउँदा एक गाग्रो पनि नआउने रोजगारीका लागि आएकाहरु बताउँछन् । पानीकै कारण तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकहरु घट्दै गएपनि पर्यटन व्यवसायी पानीको समस्याका बारेमा बाहिर बोल्न चाहँदैनन् । पछिल्लो पटक कालीगण्डकीबाट लिफटिंग गरेर पानी ल्याइए पनि समस्या ज्यूँका-त्यूँ छ ।
टयांकरले महंगोमा नगरवासीको गर्जो टारेको छ । धारामा कहिले काँही मात्रै पानी आउने हुँदा कुन समयमा आउँछ थाहा हुँदैन । समितिका पदाधिकारी भने विद्युत अनियमित हुँदा समस्या भएको भन्दै उम्कने गरेका छन् । हरेक निर्वाचनमा तानसेनको पानी मुख्य मुद्दा बनाउने नेताहरु निर्वाचनपछि वर्षाको भेल सुके जस्तै हराउने नियति छ ।
टयांकरले धानेको तानसेनको खानेपानी समस्या कहिले समाधान हुने हो थाहा छैन । तर पनि नगरवासी पर्याप्त पानी आउने आशामा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्