१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

पशुपति सरसफाईका लागि तीन महिने अभियान सञ्चालन गर्ने


117
Shares

काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि तीन महिने अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

उहाँले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान सुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । त्यस्तै, पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताउनुभयो । त्यस्तै, नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिलाविरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताउनुभयो । सरसफाई निर्देशिका जारी गर्न लागेको पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उहाँले बताउनुभयो । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उहाँको भनाई छ । मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताउनुभयो । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।