२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न


26
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न भएको छ ।

विद्यालयलाई तीनतारे घोषणा गर्ने उदेश्यले याे सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको आयोजना गरेको हो ।

तीनतारे विद्यालय घोषणा गर्न खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका विभिन्न ७ सूचक पार गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत विद्यालयमा आवश्यकता अनुसार मैत्रीपूर्ण शौचालय निर्माण, शौचालयमा साबुनपानी, शौचालयमा नियमित सरसफाई, विद्यालयमा सेनेटरी प्याडको प्रयोग गरी उचित व्यवस्थापन, सुरक्षित खानेपानीका लागि फिल्टरको व्यवस्था, कक्षा कोठामा डस्टबिन राखिएको र फोहोर वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने लगायतका कार्यहरू भइरहेका छन् ।

यसको दिगोपना र नियमितताका लागि विद्यालयले खानेपानी, सरसफाई तथा स्वच्छता कोष स्थापना गरिएको प्रधानाध्यापक नाथले बताउनुभयो । विद्यालयलाई केही महिनाभित्रै तीनतारे घोषणाा गर्ने विद्यालयको लक्ष्य रहेको समेत उहाँले बताउनुभएकाे छ ।

सम्मेलनमा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती ऐरी कार्की, शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी, वडा नम्बर ३ का अध्यक्ष कालुराम सार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर कुँवर, रोटरी क्लब, संयोजन नेपालका प्रतिनिधि, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि र विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थित रहेको थियो ।