
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आफूहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको हो ।
अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उहाँले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताउनुभयो । सरकारमा सामेल भएका दलहरु फेरिने भएपनि सरकार नफेरिने उहाँको भनाई छ । जनमत पार्टी सरकारमा यथावत रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उहाँले सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताउनुभयो । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उहाँले बताउनुभयो । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उहाँको तर्क छ । आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताउनुभयो । यद्यपी यी मागहरु पूरा गर्नका लागि सरकारलाई समय भने दिइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्