
नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाभित्र रहेका नदीजन्य पदार्थको ठेक्का लगाउन नगरपालिकाले आईईई गरेर प्रकृया अघि बढाएको छ ।
नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएसँगै जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको छ ।
सुनवलको सबैभन्दा बढी आन्तरिक राजस्व संकलन हुने स्रोत खोला ठेक्का हो । सात वटा खण्डको आईईई गरेपनि ५ वटा खण्डको मात्र ठेक्का आव्हान गरिएको छ । दुई वटा खण्डको ठेक्का आव्हान नगरेपछि एक् साता अघि भएको नगरसभामा जनप्रतिनिधिबीच विवाद भएको हो ।
नगर प्रमुख विमला अर्यालले तुरिया खोलामा रहेका नदीजन्य पदार्थ एक कम्पनीलाई जिम्मा दिने जनाएपछि विवाद भएको हो ।
सात खण्डमध्ये भूमही खोला, तुरिया खोला तल्लो खण्ड, तिलकना खोला, पानभार खोला माथिल्लो खण्ड र पानभार खोला तल्लो खण्ड गरी पाँच खण्डको ठेक्का आव्हान भएको नगरपालिकाले जनाएको छ ।
तुरिया खोलाको माथिल्लो खण्ड नारायणगढ–बुटवल सडकखण्ड विस्तार गरिरहेको चिनियाँ कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनलाई दिने भन्दै नगर प्रमुख अर्यालले नगरसभामा प्रस्ताव लगेपछि ठेक्काको विषय विवादित भएको हो ।
चिनियाँ कम्पनीलाई नदीजन्य पदार्थ दिने प्रस्ताव आएपछि नगर उपप्रमुख सूर्य दुबे र चार जना वडाअध्यक्षसहितका जनप्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । उता, नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेटलाई ठूलो परिमाणमा नदीजन्य पर्दाथ आवश्यक भएको र एकैपटक ठूलो रकम त्यसबाट नगरपालिकालाई आम्दानी हुने भएकाले कम्पनीलाई खोला जिम्मा दिन लागिएको नगर प्रमुख अर्यालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्