२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पशुमा बाँझोपनको समस्या बढेको ठहर


442
Shares

स्याङ्जा । मानिसका लागि निःशुल्क स्वास्थ्य शिविर त सुनिएकै हो तर स्याङ्जाको कालीगण्डकी गाउँपालिका अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा पशु चौपायाको गोबर, परजीवि परीक्षणदेखि बाँझोपनसम्मको उपचार गरिएको थियो ।

गाउँमा निशुल्क पशु स्वास्थ्य शिविर हुने खबर पाउनासाथ स्थानीय किसान घरमा रहेका रोगी पशु चौपाया डो¥याएर निस्किएका थिए । शिविरमा ६१ घरधुरीले पाल्दै आएका १ सय ३१ भैंसी, १ सय ६४ बाख्रा, ७८ बंगुर, ३७ कुखुरा गरी कूल चार सय १० वटा पशुचौपाया तथा पक्षीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजेश पाण्डेयले जानकारी दिनुभयो ।

९१ पशु चौपायाको गोबर परीक्षण ९१, १ सय १३ को औषधोपचार, १६९ पशुको आन्तरिक तथा बाह्य परजीवी र बाँझोपनाको उपचार गरिएको छ । प्राविधिकहरुका अनुसार चौपायामा बाँझोपना अत्यधिक बढेको छ । गोबर परीक्षणको रिपोर्ट आएपछि रोगको संक्रमण हेरी पशु चौपायालाई थप उपचार गरिने बताइएको छ ।

पशु चौपायाहरूको उपचारका लागि फुकाएर टाढाटाढा लैजान निकै समस्या हुने गरेकामा गाउँमै शिविर आएपछि ठूलो राहत भएको स्थानीयले बताएका छन् । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको पुस्तकालय अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको खुर्दी गाउँमा पशु निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक सेवा उपलब्ध गराएको बताइएको छ । उपयुक्त चरीचरन र पशुपालक किसानको बाक्लो बसोबासका कारण स्याङ्जा पशुपालनका दृष्टिले उपयुक्त मानिन्छ ।

कृषि तथा पशुपालनका दृष्टिले पकेट क्षेत्र बनाउन सकिने भएकाले पनि आयोजकले खोर्दीलाई शिविरका लागि उपयुक्त ठानिएको हो । खोर्दीका स्थानीयले नियमित रुपमा पशु चौपायाको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।