२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


पीछडिएका क्षेत्रका महिलाका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना


91
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पीछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पीडडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गर्नुभयो ।

उपसभामुख रानाले पीछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरुको प्रतिनिधित्व गराउन बढि जोड दिन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहको वडामा पनि महिलाहरुको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरुले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फनै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताउनुभयो । ५० प्रतिशतभन्दा बढि महिलाहरु रहेको मुलुकमा उनीहरुको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उहाँको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो ।

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो । उहाँले महिला जनप्रतिनिधिहरुको काममा अवरोध नपुर्‍याउन पनि सचेत गराउनुभयो ।