२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभा बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित


572
Shares

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार नेकपा (एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । योसँगै नेकपा (एमाले) ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ ।

कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने एकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको तर्क गर्नुभयो ।

एमाले सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको दाबी गर्नुभयो । उहाँले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पार्नुभयो । यद्यपी को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उहाँको भनाई छ ।

आउँदो बैठकमा एमाले संसदको प्रतिपक्षी बेन्चमा बस्ने एमालेका केन्द्रिय सदस्य सांसद ठाकुर गैरेले बताउनुभयो । एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद र सडकबाट उठाउने उहाँको भनाई छ ।