
काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार पुँजीगततर्फ एक करोड रुपैयाँ बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपैयाँ रकमान्तर भएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पुसमा २२ अर्ब दुई करोड रुपैयाँ रकमान्तर भएको छ । बजेट उपशीर्षकअन्तर्गत सबैभन्दा धेरै ट्रेजरी बिलको सावाँ भुक्तानी अपुग रकम व्यवस्थापन गर्न १२ अर्ब रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसपछि विकास ऋणको सावाँ भुक्तानतर्फबाट ट्रेजरी बिलको सावाँ भुक्तानीका लागि दस अर्ब रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयले माघसम्म पाँच करोड रुपैयाँ बढी आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।
यसैगरी विभिन्न व्यक्ति तथा संस्थाको नाममा पाँच करोड २१ लाख रुपैयाँ बराबर अनुदानमा बाँडिएको छ । यसबाहेक मन्त्रालयले अर्थ विविध शीर्षकअन्तर्गत २१ अर्ब २० करोड रुपैयाँ निकासा दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्