Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


फेब्रुअरीमा ७३ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए


221
Shares

काठमाडौं । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको दोस्रो महिनामा हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटक मात्र नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ को सोही महिनामा ९ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् भने अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२ जना नेपाल भित्रिएका हुन् ।

यस्तै, श्रीलंकाबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । पछिल्लो तथ्यांकले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य संख्यामा पर्यटक आएको देखिन्छ ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।