१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनकपुरमा मिटरब्याज र लघुवित्तबाट पीडितले गरे प्रदर्शन


91
Shares

काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

बिहीबार मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समिमितले मधेस प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलन गरेको हो ।

बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका छन् ।

पीडितहरुले जनकपुरको रंगभूमि मैदान बाह्रविघाबाट सुरु भएको पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका थिए ।

संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले कानून भन्दा बाहिर गएर मिटरब्याज र लघुवित्तले मधेशका जनतालाई मारमा पारेको बताउनुभयो । उहाँले मिटर ब्याजबिरुद्ध संघर्ष समितिले १० सूत्रिय माग राख्दै आएको बताउनुभयो । उहाँले मिटरब्याज पीडितमाथि सुतखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पती गैरकानूनी रुपमा कब्जा गर्ने काम गरेको बताउनुभयो ।

उहाँले ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेकोको आरोप लगाउनुभयो । उहाँले गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा वचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।

संर्घष समितिले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पती फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पती छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । यस्तै, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग छ ।

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पती फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर् लगायतका नाराहरू लगाएका थिए ।