१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियु निर्वाचन: नेविसंघ बैतडी संगठन विस्तारमा ब्यस्त


650
Shares

बैतडी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकएसँगै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संगठन विस्तारमा ब्यस्त भएकाे छ ।

साेही निर्वाचनका लागि बैतडीका क्याम्पसमा संगठन विस्तारको काममा तीव्रता दिइएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभएकाे हाे । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते र सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्ववियु निर्वाचनको मिति तय गरेको छ ।

निर्वाचनकाे मिति नजिकिएसँगै नेविसंघ बैतडीको सम्पूर्ण ध्यान स्ववियु निर्वाचन कसरी जित्ने भन्नेमा केन्द्रित रहेको केसीको भनाइ छ । यहाँ रहेका क्याम्पसहरूमा पुगेर संगठन विस्तार गर्ने काम भइरहेको नेविसंघ बैतडीले जनाएको छ ।

यसअघि यहि फागुन १३ गते पाटनमा सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार संगठन विस्तारको काम भइरहेको हो । बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरेर फागुन १५ गतेदेखि संगठन विस्तार अभियान सञ्चालन गर्ने, स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा प्रतिनिधि खटाउने र स्ववियु निर्वाचनका लागि क्याम्पस र भेग सुहाउँदो नारा तय गर्ने निर्णय भएको थियो ।

नेविसंघप्रति विद्यार्थीको आकर्षक बढ्दो रहेको अध्यक्ष केसीले बताउनुभयो । बैतडीमा त्रिभुवन विश्व विद्यालयका सम्बन्धन प्राप्त र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका श्रीकोट बहुमुखी क्याम्पस, पुर्चौंडी बहुमुखी क्याम्पस, सिगास बहुमुखी क्याम्पस गाँजरी र सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा चैत ५ गते स्ववियु निर्वाचन हुने जनाइएकाे छ ।

त्यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसहरु जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएकाे छ ।