२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पौडेल या नेम्वाङ राष्ट्रपतिमा निर्वाचित भए सांसद पद के हुन्छ ?


3.575k
Shares

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ अन्य दलसँग सहयोग माग्न तीब्र भेटघाटमा हुनुहुन्छ ।

राष्ट्रपति चयनको प्रक्रिया अन्तर्गत फागुन १३ गते दुबै जनाले मनोनयन दर्ता गरेका थिए । निर्वाचन आयोगले मतदानका लागि फागुन २५ गते तोकेको छ । राष्ट्रपतिको निर्वाचनमा लागि संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाका सांसद र सातवटै प्रदेश सभाका सांसद मतदाता रहने व्यवस्था छ । तर संघीय सांसद र प्रदेश सभाका सांसदको मतभार भने फरक फरक छ । संघीय संसदका सांसदको एक जना बराबर ७९ मत (मतभार) गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मत गणना हुन्छ ।

पौडेल कांग्रेस, माओवादी लगायत ८ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो भने नेम्वाङ एमाले एक्लैको तर्फबाट उम्मेदवार बन्नु भएको हो । दुबै जना उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्न लागिरहेपनि आखिरमा राष्ट्रपतिमा जित्ने एकजना मात्रै हुन्छन् अर्थात एकजनाले जित्छन् भने अर्काेले हार्छन् । अहिले राष्ट्रपति उम्मेदवार बनेका दुबैजना गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् ।

पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । पौडेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याउनु भएको थियो ।
त्यसैगरी नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट ३० हजार २० मत प्राप्त गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । नेम्वाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको थियो । दुईजना उम्मेदवारमध्ये राष्ट्रपतिमा एकजना मात्रै चुनिने हुँदा उम्मेवार बनेका पौडेल र नेम्वाङको सांसद पद के हुन्छ त ?

यस्तो छ संविधानमा

नेपालको संविधान २०७२ को भाग ६ को धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वत : रिक्त हुनेछ भनेर उल्लेख गरिएको छ ।
यसर्थ राष्ट्रपतिमा पौडेल या नेम्वाङ जो निर्वाचित हुन्छ, उसको सांसद पद रहने छैन र संम्वन्धित निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ । त्यस्तै जो राष्ट्रपति पदमा उम्मेदवार बनेर पराजित भएको छ र उ सांसद छ भने उसको सांसद पद रिक्त हुनेछैन भन्ने बुझ्न सकिन्छ । किनकि पराजित भएमा उसको बहाल रहेको पद के हुन्छ भनेर संविधानमा स्पष्ट उल्लेख छैन । त्यसकारण पौडेल या नेम्वाङ जो राष्ट्रपतिमा निर्वाचित हुन्छन् निर्वाचित हुनेको सांसद पद जान्छ भने पराजित हुनेको सांसद पद जाने छैन ।