
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान नेपालले जाजरकोटका स्थानीयवासीले लघु बित्तिय संस्थाका संचालकलाई कालोमोसो दलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुर्गा प्रसाईलाई अघि सारेर राजसंस्था पुनर्स्थापना हुनुपर्ने,बैंक तथा बित्तिय संस्थाहरुले सर्वसाधारणसँग असुल्दै आइरहेका चर्काे ब्याजदर कम गर्नुपर्ने लगायत विभिन्न माग राखेर आन्दोलन शुरु गरेको उक्त अभियानले कालोमोसो दलेको घटनामा आफ्नो संलग्नता नभए पनि सो घटना प्रति गम्भिर भएको जनाएको हो । अभियानकी प्रवक्ता एवं वरिष्ठ पत्रकार रमा सिंहले सामाजिक सञ्जाल मार्फत एकजनालाई कालो मोसो दलेर समस्या समाधान नहुने,समस्या समाधानका लागि सरकारी निती नै परिवर्तन गर्नु पर्ने भएकोले अति उत्साहित भएर एक नेपालीले अर्को नेपालीलाई अपमानित हुने काम कसैबाट पनि नहोस भनेर सजक रहन आग्रह गर्नुभएको छ ।
प्रवक्ता सिंहले भन्नु भएको छ ‘राष्ट्र, राष्ट्रीयता, बैदिक सनातन धर्म र नागरिक बचाउने महाअभियान अन्तर्गत फागुन २० गते देखि हामीले निरन्तर सुरू गर्ने आन्दोलनका विषयमा भ्रम फैलाउने प्रयासहरू भै रहेकाले यस्ता भ्रामक प्रयासको पछि नलाग्न सम्पूर्ण सबैमा बिनम्र अनुरोध छ ’।
सो अभियानले फागुन २० गते शनिबार काठमाडौंको नयाँबानेश्वरबाट भेला मार्फत थप आन्दोलनका कार्यक्रम शुरु गर्ने जनाएको छ ।
अभियान कसैको बिरूद्धमा नभई नेपाली जनताले भोग्नु परेका पीडा र बिसंगतिका बिरूद्ध सबै नेपाली एउटै थलोमा बसेर आफ्नो समस्या आफै समाधान गरौ भनेर सुरू गरिएको पनि प्रवक्ता सिंहले जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्