
काठमाडौं । नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक-पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ ।
आइतबार दुबईमा ग्राउण्डेड ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक समस्या आएपछि प्राधिकरणले चासो बढाएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ध्वजावाहक जहाजमा पटक-पटक समस्या आएपछि प्राधिकरणको ध्यानाकर्षण भएको र प्राधिकरणअन्तर्गतका सुरक्षा अधिकारी परिचालन गरेर अनुसन्धान गर्ने जानकारी दिनुभयो ।
जहाज मर्मतसम्भार गरेर दुई दिनअघि उडान भरेको थियो । तर, काठमाडौं–मलेसिया उडान गरेको जहाज पुनः काठमाडौं फर्कने क्रममा प्राविधिक समस्या आएको थियो । मर्मतपछि जहाज उडान तालिकामा उड्न थालेपनि प्राधिकरणले भने अनुसन्धान गर्न लागेको हो ।
निगमको एयरबस–३२० मा प्राविधिक समस्या आएपछि आइतबारदेखि दुबईमा ग्राउण्डेड भएको थियो । यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो । निगमसँग जहाज हुँदाहुँदै पनि सही व्यवस्थापन नहुँदा तोकिएको समयमा उडान नहुने र अन्तिम समयमा उडान रद्द गर्ने पुरानो रोग हटेको छैन ।
निगमसँग भएका चारमध्ये एउटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय गन्तव्यका लागि पूर्वनिर्धारित तालिका प्रभावित हुँदै आएका छन् । एक वर्षअघि इन्जिनमा समस्या आएपछि नाइन एन–एकेडब्लु कलसाइनको न्यारोबडी जहाज दोहामा ग्राउन्डेड भएको थियो ।
निगमसँग हाल दुई एयरबस–३३०, दुई एयरबस–३२० गरी चारवटा जहाज छन् । यी जहाजले दिल्ली, मुम्बई, बैंगलोर, जापान, थाइल्याण्ड, हङकङ, साउदी अरेबिया, दुबई, कतार, मलेसियालगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्