
अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएकाे छ ।
प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेकाे पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएकाे हो । उहाँले पार्टीले सरकारको नेतृत्व गर्ने किसिमले दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास रूट) को संचालन गरेको बताउनुभएको हाे । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आगामी निर्वाचनमा स्थानीय ,प्रदेश र संघको निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीले कुनै ह्वीप नलगाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सहमति विपरित राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न जानुमा त्यसभित्र ठूलो झाल झेल भएको बताउनुभएको छ ।
त्यस्तै, यहि फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नै पक्षमा पार्ने गरी आफूहरु तयारीमा लागेको बताउनुभयो । यता जिल्लाका ६ वटै पालिकामा मिसन ग्रास रूट कार्यक्रम सम्पन्न गर्नका लागि पोलिट व्यूरो सदस्य सूर्य थापा, बिमला घिमिरे र अर्घाखाँची एमाले अध्यक्ष पिताम्बर भुसाल लगायतको टोली खटेको छ ।
पहिलो चरणमा पालिकाको कार्यक्रम सकिन लागेकाले अब वडा तथा टोलसम्म कार्यक्रम संचालन गर्ने योजनाका साथ अगाडि बढेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्