
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाका-३ सय २७ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् ।
उनीहरूले ३ दिने पालिका स्तरीय महिला प्रजनन सम्बन्धी घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गरेका हुन् । जिल्लाको धापामा ७७, नराकोटमा १ सय र शनिगाँउ स्वास्थ्य चौकीमा १ सय ५० जना महिलाहरूले सेवा लिएका छन् । ४ जनालाई अप्रेसनका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको छ ।
त्यस्तै, ५७ जनालाई रिङ पेसरी राखिएको छ । दुर्गम ठाउँमा आर्थिक अभावका कारण उपचार पाउनबाट बञ्चित भएकाहरुका लागि निःशुल्क शिविर राखिएको हो । क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले महिलाको स्वास्थ्य उपचार गरेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले जानकारी दिनुभयो ।
पाठेघर सम्बन्धी परिक्षण, आङ खस्ने समस्या, सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने रोगका बिरामी बढी भएको चिकित्सकले बताएका छन् । जुम्लाका महिलाहरू प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्य बोझका कारण खानपान र सरसफाईको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्