१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाइरहेकाे ओलीकाे आराेप


325
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाउनु भएको छ ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकीर थियो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताउनु भयो । उहाँले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताउनु भयो । उहाँले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियू निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उहाँले बताउनु भयो ।