
स्याङ्जा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाले शहीद सप्ताहको अवसरमा शहीद परिवारको घरमा पुगेर फलफूलका विरुवा हस्तान्तरण गरेर वृक्षारोपण समेत गरिरहेको छ ।
स्याङ्जामा शहीद तथा वेपत्ताका परिवारलाई शहीदको सम्झना गर्दै आँप, लिचि, धुपी र सल्ला लगायतका विरुवाहरु शहीदको घरमा पुगेर परिवारसहित पार्टी नेता तथा कार्यकर्ताहरु आफैंले रोपिरहेका छन् ।
पार्टीको केन्द्रीय नीति बमोजिम हरेक शहीद परिवारको घरमा एक फलफूलको विरुवा एक जडीबुटीको विरुवा र एक फूलजन्य विरुवा हस्तान्तरण गरिने कार्यक्रम अन्तर्गत करिब १ दर्जन बढी विरुवा रोप्ने काम भइसकेको छ । बाँकी शहीद परिवारको घरमा समेत पुग्ने जनाइएकाे छ ।
स्याङ्जामा जनयुद्धका ५२ जना शहीद भएका थिए भने ५ जना वेपत्ता भएका छन् । नेकपाले पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको दिन फागुन १४ देखि २१ गतेसम्म सप्ताह ब्यापी कार्यक्रम गर्दै आएको छ ।
पार्टीप्रति गुनासो एवं शहीद परिवारलाई उचित व्यवस्थापन र सहयोग नभएको भन्दै कतिपय शहीद परिवारले गुनासो समेत गरेका थिए । शहीद ओमप्रसाद भुषालकी छोरी सिर्जना भुषालले शहीद परिवारलाई व्यवस्थापन गर्न पार्टीले वेवास्ता गरेको गुनासो गर्नुभयाे ।
त्यस्तै, सत्ताधारी पार्टीले शहीद परिवारलाई उचित सहयोग नगरेको र शहीदका सपना पूरा गर्न सबै माओवादीहरु एकजुट हुनुपर्नेमा फुटेकोले निरास बनाएको शहीद चुडामणी पराजुलीकी आमा हेममाया पराजुलीले बताउनुभयो ।
आफ्ना छोराछोरीको बलीदानीको सम्मान नभएको शहीद परिवारको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्