
काठमाडौं । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो । गत मंसिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।
हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए । ‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।
आयोगले लगाएको निर्वाचन आचारसंहिता ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनसम्म कायम रहन्छ । तर, सरकारले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनअघि नै एआईजी बढुवा गर्नेगरी आयोगसँग अनुमति मागेको हो । उपराष्ट्रपति निर्वाचन सम्पन्न नहुँदासम्म त्यसअघि बढुवा गर्न आयोगको स्वीकृति आवश्यक पर्छ । आयोगको आचारसंहिता हेर्ने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गृह मन्त्रालयबाट बढुवाको अनुमतिका लागि आयोगमा आएको पत्र आयोगको सचिवालयमा पेस भएपछि मात्रै निर्णय हुने जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्