१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङकाे फक्ताङलुङमा आँखा शिविरमा ७० जना बिरामीको शल्यक्रिया


91
Shares

ताप्लेजुङ । ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हाे । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियाे ।

गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाबिन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडाैं र फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको शिविरमा मोति बिन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

प्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । डाक्टर रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न हुनुभएको हो । शिविरमा २ हजार ४ सय ३० जना आँखाका बिरामीको जाँच तथा उपचार गरिएको थियो । बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खान बस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिनुभयो ।

जटिल समस्या देखिएका ४ जना बिरामीलाई भने तिलगंगा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीय भने खुशी भएका छन् ।