१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

म्याग्दीको बगरफाँटका युवाले खेलकुद मार्फत गाउँ-समाज चिनाउँदै


65
Shares

म्याग्दी । म्याग्दीको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमबाट गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका छन् ।

युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्बाइको विशाल खेल मैदान निर्माण भएको हाे । करिब १० लाखको लागतमा निर्माण भएको सोही खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि १ लाख पुरस्कार राशीको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिएका हुन् ।

फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरु एक महिना अघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिब ८ लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष थापाको भनाइ रहेको छ ।

गाउँका भाइहरुको उत्साहा र उनीहरुको कृयाकलाप देखेर-सुनेर आफूलाई निकै खुसी लागेको र उनीहरुले आयोजना गरेको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिताको सफलताका लागि आफूले सक्दो सहयोग गर्ने हाल जापानमा रहनुभएका बगरफाँटका युवा सागर कार्कीले बताएका छन् ।

बगरफाँट खेलाडीहरुको गाउँ पनि हो । यहाँका युवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुँदै आएका छन् । गत माघ दोस्रोे हप्ता पोखरामा सम्पन्न दुई वटा फुटसल प्रतियोगितामा यहाँको रिभर साइड क्लबले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै १ लाख ५० हजार रूपैयाँकाे पुरस्कार जितेको थियो ।

अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभर साइड बगरफाँट युवा क्लब प्रथम हुँदै १ लाख पुरस्कार प्राप्त गरेको क्लबका सचिव सचिन कार्कीले जानकारी दिएका हुन् ।

पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भएर खेलकुदका साथै अन्य सामाजिक र जनचेतना मूलक कामहरुमा लागेका छन् । यहाँका युवाहरुले कोरोना कालमा घरघरमा पुगेर औषधि, मास्क र स्यानिटाइजर लगायतका सामग्रीहरु वितरण गर्नेदेखि लिएर अस्पताल सम्म लगेर उपचार गराएर ल्याउने समेत गरेकाे स्थानीयले बताएका छन् ।

आगामी चैतकाे अन्तिम हप्ता आयोजना हुन लागेको प्रथम रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकाले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह समेत गरेका छन् ।