९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दूर्गन्धले स्थानीय मारमा


78
Shares

काठमाडाैं । नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय दूर्गन्धको मारमा परेका हुन्।

फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दूर्गन्धित बनाउँदा आफूहरु मारमा परेको स्थानीयको गुनासो छ ।

खेतीयोग्य जमिनमा सिँधै फोहोर फालिँदा स्थानीय किसानहरु समेत मारमा परेका छन् । फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साइट बनेको छैन ।

दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिँदै गएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदुषण बढेको छ ।

दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन् निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहर , मारेका चौपाय गाई, गोरु, कुकुर , बिरालो साथै सबै किसिमका फोहोरजन्य पदार्थ व्यवस्थापन नहुँदा स्वास्थ्यका लागि हानिकारक हुने भएको छ ।

नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ । जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन् । तर नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरु नै दोषी रहेको स्थानीयको आरोप छ ।

अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगलजस्ता ठाउँमा फोहोर देखिन्छन् ।

फोहर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ । नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयम् जनप्रतिनिधीकै आरोप छ ।

रामग्राम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोरको व्यवस्थापन गर्न नसकिने स्विकार गर्नु भयो ।

आफ्नो नगर कस्तो बनाउने हो ? त्यो भिजन रामग्रामले बनाउन सकेको छैन । यसमा दोषी नगरप्रमुख मात्र होइन् सबै जनप्रतिनिधिहरुको दोष छ ।

हिजो नहुँदा हामी गर्छौ भन्नेहरु आज त्यही ठाउँमा पुगेका छन । तर किन उनीहरुले नै गर्न सकेनन ? स्थानीयले प्रश्न उठाएका छन । डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसको व्यवस्थापनमा नगरपालिकाले बेलैमा ध्यान दिन जरुरी छ ।