
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उहाँले दाबी गर्नुभयो ।
धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषय समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु बढेको जिकिर गर्नुभयो ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको उहाँको भनाइ छ । नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको उहाँको भनाइ छ ।
अहिलेको सरकारको प्राथमिकतामा संक्रमणकालीन न्याय प्राथमिकतामा परेको भन्दै प्रवक्ता शर्माले यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्