२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकी करिडर प्रसारण लाइन निर्माणको अवरोध हटाउन प्राधिकरणको पहल


156
Shares

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणको अवरोध हटाउन प्राधिकरणले पहल अगाडि बढाएको छ ।

आयोजना अन्तर्गत पर्वतको फलेवासमा विगत ३ वर्षदेखि प्रसारण लाइन निर्माणमा भइरहेको भैरहेको छ ।

फलेवासको देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरिरहेका हुन् । अवरोध हटाउन कार्यकारी निर्देशक कुलमान घिसिङसहितको प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।

अवरोधका कारण यस क्षेत्रमा प्रसारण लाइनका ४ वटा टावर निर्माण रोकिएको छ । टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीबासीसंग छलफल गरिएको जनाएको छ ।

प्रसारण लाइन अभावमा यस क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई भैइरहेको क्षतिबारे अबगत गराउँदै निर्माणमा सहयोग गरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।

टावर सार्न सकिने नसकिने विषयमा तत्काल सर्वेक्षण गर्ने सहमति भएको बताइएको छ । स्थलगत निरीक्षणबाट प्रसारण लाइन विद्यालयमाथि पर्ने नदेखिएको र विद्यालय, रंगशालालगायतलाई जोगाएर सम्भव भएसम्म कम असर पर्ने गरी टावर निर्माण गरिने पनि प्राधिकरणले प्रतिवद्धता जनाएको बताइएको छ ।