२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन हुनुपर्छ : रमेश लेखक


169
Shares

काठमाडौं । नेपाली कांग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन हुनुपर्ने बताएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको राष्ट्रपतीय निर्वाचनका लागि बनेको ९ दलीय गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक दल र सरकारका तर्फबाट संक्रमणकालीन न्यायका बारेमा कमजोरी भएको स्वीकार्दै पीडित र पीडितका परिवारको न्यायको परिपूरण सक्रमणकालीन न्यायकै प्रवन्धबाट समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले संक्रमणकालीन न्याय सम्बन्धी ऐन परिमार्जन गरी चालु अधिवेशनमा नै विधेयकका रुपमा तत्काल संसदमा पेस गर्नुपर्ने र चाँडो भन्दा चाँडो कानुन बनाइ कानून बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्धी आयोग गठन हुनुपर्ने बताउनुभयो ।

उहाँले अदालतमा मुदद पर्ने कुरालाई सामान्य रुपमा हेर्नुपर्ने भन्दै सर्वोच्च अदालतलाई पनि द्वन्द्वकालका मुद्दाहरुको तार्किक निस्कर्षमा पुर्‍याउने भनेको संक्रमणकालीन न्याय पद्धतिबाट हो भन्नेकुरा ज्ञात रहेको बताउनुभयो । उहाँले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित नहुने स्पष्ट व्यवस्था रहेको दाबी गर्नुभयो ।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषय एउटा सरकार, अमुक पार्टीको मात्रै विषय नभइ राज्यको विषय भएको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायको विषय चाँडो भन्दा चाँडो तार्किक निस्कर्षमा पुर्‍याउनुपर्ने उल्लेख गर्नुभयो ।