९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सबैको विवेक प्रयोग गरेर मुलुकमा देखा परेका आर्थिक संकट समाधान गछौं : प्रधानमन्त्री दाहाल


273
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताउनुभएको छ ।

मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो ।

मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको रुपमा असफल हुने छुट नरहेको पनि दोहोर्‍याउनुभयो । उहाँले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासन समेत दिनुभयो । त्यसका लागि अध्ययन र अनुसन्धानको काम धेरै अघि बढिसकेको प्रधानमन्त्री दाहालका जिकीर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले विद्युत व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने संकेत मुलुकमा देखा परेको दाबी समेत गर्नुभयो । मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई बिक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमति गरेको स्मरण गराउनुभयो ।

उहाँले आफू हाईड्रोजन गाडी चढने तयारीमा रहेको समेत बताउनुभयो । डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढन नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले प्रधानमन्त्री बनेको बेला सल्लाह दिएको र सोही अनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले ग्रिन इनर्जीबाट हाइड्रोजन इनर्जीमा गएर मुलुकमा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गरी आर्थिक गतिविधिलाई अघि बढाउन सकिने स्पष्ट पार्नुभयो ।