
काठमाडौं । सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार विस्तार हुन नसकेको बताउनुभएको छ ।
बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताउनुभयो । उहाँले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गएपनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताउनुभयो ।
उहाँले डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताउनुभयो ।
अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्नुभयो । उहाँले सूचना प्रविधिमा महिलाको पुँहच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्