३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सयौं वर्ष पुराना हिति संरक्षणको पर्खाइमा


208
Shares

काठमाडौं । नेपालको हिति सभ्यता विश्वमा देखाउनलायक मौलिक सम्पदा हो । यद्यपि विभिन्न कारणले सम्पदा मासिने क्रम तीब्र छ । केही सम्पदाको पुननिर्माण क्रमिक रुपमा हुँदैछ । मौलिक ज्ञान, सीप, प्रविधि र स्थानीय स्रोत साधनले पनि हितिलाई ब्यूँताउन सक्छ भन्ने पछिल्लो नमुना पाटनको आल्को हिति बनेको छ ।

ललितपुरलाई हिति सभ्यताको केन्द्र मानिन्छ । यहाँ रहेका अधिकांस हिति संरक्षित छन् । यीमध्ये इखाछे टोलमा रहेको आल्को हिति एक हो । करिब ६ सय वर्ष पुरानो यो हिति अहिले पनि स्थानीयको भरपर्दो पानीको स्रोत हो ।

हितिमा रहेको सयौं वर्ष पुरानो हिति खिइएको, पानी जम्ने भूमिगत पानी सञ्चय गर्ने माटोको भाँडा र नाली बिग्रिएको पाएपछि अहिले जीर्णोद्धारको काम भइरहेको छ । हिति बनाउने काम भने प्राचिन मौलिक ज्ञान, सीप, प्रविधि र स्थानीय स्रोत साधनबाट भइरहेको छ । यसको मुख्य विशेषता भनेको प्राकृतिक जोडनको काम गर्ने माटो हो । जसलाई नेवारी भाषामा ‘गथेचा’ भनिन्छ ।

कुनै सिमेन्ट र आधुनिक प्रविधि प्रयोगविना ‘गथेचा’, इँटा र अग्राख काठबाट मात्र हिति बनिरहेको छ । जुन भूकम्प प्रतिरोधात्मक समेत रहेको छ । त्यसैले हजारौं वर्षसम्म हितिको भूमिगत संरचना नष्ट हुँदैन । भूमिगत जल संरक्षणविद् यसखाले प्रविधिले हजारौं वर्षसम्म सम्पदा सुरक्षित गर्न सकिने बताउँछन् ।

सात दशक उमेर काटिसकेका हिति बनाइरहेका प्राविधिक युवराज बज्राचार्य आफूले आफ्नो पुर्खाबाट सिकेको ज्ञान र सीपले नै हिति बनाइरहेको बताउनुहुन्छ । हिति बनाउने मौलिक ज्ञान, सीप र प्रविधि लिपिबद्ध गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उहाँको सुझाव छ । अब प्राविधिक र स्थानीय तहले पनि मौलिक ज्ञान, सीप र प्रविधि प्रोत्साहन र संरक्षण गर्नुपर्छ ।

आल्को हितिको भूमिगत पानीको भण्डारण रहेको जमिनको समेत इखाछे टोलका समुदायले संरक्षण गरेका छन् । जुन हिति संरक्षणको मेरुदण्ड समेत हो । उनीहरुले सो जमिन किनबेच नगर्न समेत सार्वजनिक सूचना जारी गरेको छ ।

हिति नेपालको मौलिक सभ्यता भएका कारण यस्ता हितिहरुको संरक्षणमा स्थानीय समुदायको प्रमुख भूमिका रहन्छ । तसर्थ हिति संरक्षणमा समुदाय एकजुट हुनुको विकल्प छैन ।