
एजेन्सी । युरोपियन मुलुक जर्जियाको राजधानी टिबिलिसीमा सरकार विरुद्धको प्रदर्शन चर्किदै गएको छ।
संसद भवन बाहिर प्रदर्शन चर्किएपछि प्रहरीले बुधबार दोस्रो रात पनि प्रदर्शनकारीहरू विरुद्ध पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेकाे थियाे । जर्जिया सरकारले विदेशी अनुदान र सहयोगमा लगाम लगाउने एउटा विवादास्पद कानून ल्याएपछि प्रदर्शन चर्किएको हो ।
उक्त कानूनले २० प्रतिशत भन्दा बढी विदेशी अनुदान भित्र्याउने गैरसरकारी संस्था एवं संचारमाध्यमलाई विदेशी दलालको रुपमा चिन्नेछ । प्रहरीले प्रदर्शन तोड्न खोज्दा संसद भवन वरपरका सडकमा लगातार अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशित भीडले एउटा प्रहरी भ्यान समेत पल्टाइ दिएकाे थियाे । साेही भीडले संसद भवन परिसरमा राखिएको मेटल ब्यारियर पनि पर धकेलिदिएकाे थियाे । जर्जिया सरकारले ल्याउन लागेको यस्तै कानून रुसमा प्रेस स्वतन्त्रतालाई गम्भीर रूपमा सीमित गर्न र नागरिक समाजलाई दवाउन प्रयोग गरिएको छ ।
नयाँ कानून पारित भएमा युरोपेली युनियनमा सामेल हुने जर्जियाको आशामा क्षति पुग्ने प्रदर्शनकारीहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्