२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशबाट फर्किएका महिला भन्छन्: समाजले हामीलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्याे


312
Shares

काभ्रे । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले आफूहरुलाई समाजले फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गरेका छन् ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बनेपामा आयोजित कार्यक्रममा उनीहरुले यस्ताे गुनासो गरेका हुन् । धुलिखेल–९ की शान्ति श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा १७ वर्ष मलेसियामा बसेकाे बताउनुभयाे । आफूले कमाएको रकम घरखर्च र छोरा-छोरीकाे पढाईमा खर्च गरेकाे उहाँकाे भनाइ थियाे ।

विदेशबाट पठाएको पैसा पठाउन्जेल सबै जना खुशी भएकाे उहाँले बताउनुभयाे । तर आफू घर फर्किएपछि भने आफ्नै घरपरिवार समेत आफ्ना नभएकाे भन्दै उहाँले गुनासाे गर्नु भयाे । उहाँमाथि परिवार र छिमेकीले समेत अनेक लाञ्छना लगाउन थालेको श्रेष्ठको गुनासो छ ।

आफूले खाइ–नखाई दुःख गरेर कमाएको रकममा समेत शंकाको दृष्टिकोणले हेरिएको उहाँले बताउनुभयो ।परिवारको खुशीका लागि विदेशमा बिताइएको कठिन १७ वर्षलाई आफन्तले नै नकारात्मक तरिकाले व्याख्या गरेको उहाँले बताउनुभयो । ४९ वर्षकी श्रेष्ठले आफ्नै मान्छेसँग डराउनुपर्ने अवस्था बनेकाे बताउनुभयाे।

बनेपाकी अस्मिता परियारको पनि अवस्था उस्तै छ । उहाँले रोजगारीको सिलसिलामा १२ वर्ष लेबनानमा बिताउनुभयो । उहाँको लागि १२ वर्ष पिंजडामा राखे जस्तै भयो । सन् २००८ मा उहाँले मासिक १५ हजार रुपैयाँ कमाउनु हुन्थ्यो । सन् २०२० सम्म आइपुग्दा उहाँको तलब २० हजार पुगेको थियो । परिवारको खुशीको लागि पैसा जोगाउने नाममा मिठो चकलेटसम्म नखाएको उहाँको तिताे अनुभव छ ।

तर आफ्नै परिवार र समाजले नकारात्मक टिप्पणी गर्ने गरेका छन् । अहिले उहाँले बनेपामा जग्गा किन्नुभएको छ । बस्ने घर बनाउनका लागि यहि देशमा कामको खोजीमा उहाँ भौंतारी रहनुभएकाे छ। तर काम पाउने सम्भावना नदेखिएपछि उहाँ फेरी कामकै खोजीमा विदेश जाने तयारी गरिरहनुभएको छ ।

अधिकांश महिलाहरुले सीपमूलक तालिममा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई स्थानीय सरकारले प्राथमिकता नदिएको गुनासो गरेका छन् । आफूहरुसँग सीप भएर पनि काम नपाएको कविता बस्नेतले बताउनुभयो । त्यस्तै पनौतीकी इन्दु श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएपछि यहि देशमा केही गर्ने योजनाका साथ तरकारी खेती सुरु गरेपनि साथ सहयोग नपाएको बताउनुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलालाले आफूहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताएका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सोच परिवर्तन गर्न कुनै पनि नियम कानूनले मात्रै नसक्ने भएकाले मानिसको व्यवहारले परिचय दिने बताउनुभयो । उहाँले आवश्यक तालिमको लागि सहजीकरण गर्ने बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भाग्येन्द्रपुरुष ढकाल, श्रमजीवि महिला सञ्जाल काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठ, तरंगिणी फाउण्डेशनकी कार्यक्रम संयोजक रेणुका सूर्य र मनोसामाजिक कर्ता निर्मला काफ्ले लगायतको उपस्थिति रहेको थियो ।