
काठमाडौं । भीभीआईपी र भीआईपीका नाममा सडकमा साइरन आतंक हुँदा जनताको जीवन सकसपूर्ण भएको भन्दै व्यापक आलोचना हुने गरेको छ ।
ठूलाबडाको सवारीलाई प्राथमिकतामा राख्दा एम्बुलेन्स र शववाहनले समेत सडकमा रोकिनुपरेका प्रशस्त उदाहरण छन् । तेस्रो राष्ट्रपतिको चयनपछि सडकमा निर्वाध हिँड्न पाउने नागरिक अधिकारको सम्मान हुने विश्वास जनताले लिएका छन् ।
राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतिकका रुपमा संविधानले व्यवस्था गरेको भएपनि यसअघिका दुई राष्ट्रपतिको विगतलाई लिएर आलोचना हुने गरेको छ । राजा महाराजाको ऐयासीले मुलुकको कायाकल्प हुन नसकेको भनेर व्यवस्था उल्ट्याएका नेताहरू नै पदमा पुगेपछि त्यही पदचाप पछ्याउन थालेको भनेर टिकाटिप्पणी हुँदै आएको छ ।
आफैंले चुनेको प्रतिनिधि कुर्सीमा पुगेलगत्तै आफ्नोपन पाउन नसकेको गुनासो नागरिक तहमा छ । अन्यत्र त कुरै छोडौं, मन्दिरमा जाँदा समेत राष्ट्रपतिका लागि बाटो खुल्ला गर्न सडक यातायात अस्तव्यस्त बनाउने प्रवृत्तिले व्यवस्थाप्रति नै आममानिसमा असन्तुष्टि बढेको छ ।
नेपालको सन्दर्भमा राष्ट्रपति संवैधानिक पद हो । मुलुकको अभिभावक मानिने यो पद शक्तिको दाउपेच केन्द्रित हुँदै गएकोमा समेत जनतालाई चित्त बुझेको छैन ।
उनीहरूले अबको राष्ट्रपतिबाट संविधान र नियम कानूनको दायरामा बसेर देश र जनताको पक्षमा काम गर्ने आशा गरेका छन् । आफ्नै अभिभावकबाट पीडा पाउने कामबाट तत्काल मुक्ति पाउनुपर्ने धारणामा अधिकांशको एकमत छ ।
राष्ट्राध्यक्ष मुलुकको शान र गौरव त हुँदै हो । राष्ट्रिय एकताको प्रतीक मानिने यो पदको गरिमा त्यतिबेला उच्च रहन्छ, जतिबेला कर्मबाट जनताको श्रद्धा आर्जन हुन्छ । जनतालाई आतंकित बनाउँदै साइरन र बन्दुकको बाहुल्य देखिनु जनप्रतिनिधिका लागि मात्र होइन, लोकतन्त्रकै लागि पनि सुखद नहुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्