
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा चार वर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनीस्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने वर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने वर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषधसहित बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार, पछिल्लो पटक दुई जनाबाट बरामद भएको उक्त लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषधसहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रनाउ कुँवरले बताउनुभयो ।
यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ वर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेटसहित नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ वर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।
जिल्लामा पछिल्लो समय विद्यार्थी र युवाहरु लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दै गएपछि लागूऔषधका कारोवारीहरु बढेपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि खोजी अभियान र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।
लागुऔषधको कारोबारमा संलग्नलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यालयले पछिल्लो पटक जिल्ला अदालतको फैसला कार्यान्वयनमा गरेका उपलब्धिहरु समेत सार्वजनिक गरिएको छ ।
कार्यालयले कर्तव्य ज्यान, लागुऔषध, सवारी ज्यान, बैङ्किक कसुर लगायतका विभिन्न मुद्धामा फरार रहेका २२ जना कसुरदारलाई पक्राउ गरी उनीहरुमाथि लागेको २५ वर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना समेत असुल उपर गराइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्