
तेह्रथुम । कोशी प्रदेश नामांकनको विरोध गर्दै तेह्रथुमका पहिचानवादीहरुले सदरमुकाम म्याङलुङ बजारमा प्रदेश सांसदहरूको नाममा सामुहिक पिण्डदान गरेका छन् ।
भूगोल र पहिचानको इतिहासलाई बिर्सेर कोशी प्रदेश नाम कायम गरेको भन्दै कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना सांसदहरुको पिण्डदान गरिएको हो ।
लिम्बुवान किराँत संघर्ष समितीले शुक्रबार सामुहिक कार्यक्रम गरी पिण्डदान गरेका हुन् । पहिचानको आधारमा प्रदेशको नाम राख्ने विश्वास सांसादहरुले दिए पनि जनतालाई धोका दिएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ चोङबाङले बताउनुभयो ।
कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न प्रदेश नम्बर १ को पुनः नामाङ्कन गर्ने माग अगाडी सार्न संयुक्त संघर्ष समिति घोषणा गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्