८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको छ : प्रवक्ता शर्मा


364
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको आज उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले सङ्घीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताउनुभयो ।

कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुनुे गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताविरुद्ध आवाज उठाउन हुन्न, सङ्घीयता आवश्यक छैन भन्नु गलत हो ।”

“हिजोका गाविस कति थिए, पदाधिकारी कति थिए, राज्यले कतिलाई तलब खुवाउनुपथ्र्यो, कति साधनस्रोत खर्च हुन्थ्यो, आजको गाउँपालिका कत्रो छ, पदाधिकारी कति छन्, त्यो बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो, “प्रदेश कत्रो छ, त्यसभित्र कार्यपालिका, सरकार संसद्मा नेतृत्व गर्ने व्यक्ति र केन्द्रमा नेतृत्व गर्ने कति छन्, ती सबैको हिसाबकिताब गर्ने हो भने विगतमा भन्दा बढी खर्च हुने देखिँदैन ।”

कुनै समयमा राजनीतिक अस्थिरतका कारण सरकार सानो ठूलो बन्यो होला त्यो एउटा समीक्षाको पाटो हुन सक्ने मन्त्री शर्माको भनाइ छ । उहाँले भन्नुभयो, “वडामा अध्यक्षसहित पाँच प्रतिनिधि रहेका छन् । खर्चका हिसाबले पनि हिजोको भन्दा बढी हुन सक्दैन । हिजोका गाविसले दिने सेवा र आजका गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा आकाश पातलको फरक छ ।”

विगतमा भएका गल्तीकमजोरीलाई लिएर तीन तहको सरकारको विरुद्धमा जाने कुरा बेठिक भएको बताउँदै उहाँले संविधानले तोकेअनुरुप केन्द्रका लागि २५ मन्त्री, प्रदेशमा २० प्रतिशतभन्दा माथि जान नपाउने भनेर घटाएर सानो बनाएको स्पष्ट पार्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “खर्चका हिसाबले पनि हिजोका भन्दा आज कम छ ।”

जनयुद्ध र आन्दोलन जगमा टेकेर संविधानसभा निर्माण भएको उल्लेख गर्दै उहाँले संविधानसभाबाट संविधान निर्माण गरी तीन तहको सरकार गठन गरेको स्मरण गर्नुभयो । “सङ्घीय, प्रदेश र अधिकार सम्पन्न हुने गरी स्थानीय तहको सरकार गठन गरेका छौँ ।”, उहाँले भन्नुभयो, “संविधानमा लिपिबद्ध गरी सञ्चालन प्रक्रिया र अधिकार सबै संविधानमा व्यवस्थाको गरेर अघि बढेका छौँ ।”

स्थानीय तहको सरकार जनताको नजिकको सरकार, जनताको साथी, दुःख सुखमा साथ दिने सरकार भएकाले सहज तरिकाबाट जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।