१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बन्दले ताप्लेजुङको जनजीवन प्रभावित, तिर्थयात्रीलाई प्रहरीको स्कर्टिङ


1.248k
Shares

ताप्लेजुङ । प्रदेश नामाकरणको विरोधमा भएको आम हड्ताल तथा बन्दका कारण ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।

हड्तालका कारण यहाँका बजार पसल बन्द छन् भने यातायात समेत ठप्प भएको हो ।

बिहानैदेखि सदरमुकाम लगायतका ठाउँमा बन्दकर्ताहरु बसेर यातायातका साधन ओहोरदोहोर गर्न दिएका छैनन् । एम्बुलेन्स, दुध बोक्ने सवारी साधन, फोहोरका गाडी चल्न दिए पनि अन्य मोटरसाईकल, यात्रुबहाक सवारी साधन चल्न दिइएको छैन् ।

यहाँका विद्यालय, बैंक तथा वित्तिय संस्था समेत बन्द छन् । बजार, पसल, वित्तिय संस्था र विद्यालय बन्द हुँदा सेवाग्राही एवम् आम सर्वसाधरण नागरिक मारमा परेका छन् ।

यता, पाथीभरा मन्दिरका लागि तिर्थयात्री चढेका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरिरहेको छ ।

मन्दिर दर्शनका लागि पोखराबाट ८२ जना तिर्थयात्री बोकेको दुई वटा बसलाई पाँचथर सँगको सिमावर्ती काबेलीबाट प्रहरीले स्कर्टिङ गरि सदरमुकाम ल्याएको छ ।

मन्दिरबाट झरेकालाई समेत स्कर्टिङ गराइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

कोशी प्रदेश नामाकरणको विरोध जनाउँदै जनता समाजबादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान मुक्ति मोर्चा, लिम्बूवान क्रान्तिकारी सहितले बन्द गराएका हुन् ।

किराँत याक्थुङ चुम्लुङ, किराँत सुनुवार सेवा समाज लगायतका संघसंस्था समेत प्रदेश नामाकरणको विरोधमा छन् ।

जबरजस्ती कोशी प्रदेश नामाकरण गरेर पहिचानको आन्दोलनलाई बेवास्ता गरिएकाले बन्द सहितका विरोधमा उत्रनु परेको बन्दकर्ताले जनाएका छन् ।