३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


अर्घाखाँचीमा वन व्यवस्थापन मापदण्ड लागू


130
Shares

अर्घाखाँची । अर्घाखाँचीमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य अन्तर्गत दुई वर्षदेखि रोकिएको रुख कटानको कार्य सुरु भएको छ । वन व्यवस्थापन कार्यक्रमले यहाँका नागरिकको दैनिकी पनि सहज भएको छ ।

वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ लागू भएसँगै भएको रुख कटानको कार्य सुरु भएको हो। सरकारले वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको भन्दै विगत दुई वर्ष अघिदेखि रुख कटान रोक्दै आएको थियो । उपभोक्ताको अधिकारसँगै दैनिकी पनि सहज हुने कार्यमा विभिन्न बहाना बनाएर रोकिएको वन व्यवस्थापन कार्य लागू गरिएको लुम्बिनी प्रदेश वन निर्देशक जीवन पंगेनीले बताउनुभयो ।

अर्घाखाँचीमा ७४ हजार ३० हेक्टर वन क्षेत्रफल रहेको छ । जसमा ४ सय ४५ वटा सामुदायिक वन रहेका छन् । शितगंगा नगरपालिका– १३ मा रहेको धिरिखोला सामुदायिक वन उपभोक्ता समुहको सालको रुख कटान गरी कार्यक्रमको शुभारम्भ भइसकेको छ ।

योसँगै अन्य सामुदायिक वनमा पनि काम अगाडि बढाउने डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो । रुख कटान गर्दा विभिन्न मापदण्ड बनाइएको छ । मापदण्डभित्र ’रुख रोपौं, वन जोगाऔं’ जस्ता विषयमा पनि सामुदायिक वनको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

धिरिखोला सामुदायिक वन उपभोक्ता समुहमा ३५ घर परिवार रहेका छन् । मोटरबाटो, बिजुली, खानेपानी, सिँचाइ, शिक्षकलाई तलब, बंगुर, कुखुरा, बाख्रा र भैंसी पालनलगायतमा लाग्ने खर्च सबै सामुदायिक वनको आम्दानीबाट हुने गरेको छ । अभियान सुरु भएकोमा खुशी लागेको धिरिखोला सामुदायिक वनकी अध्यक्ष हेमकला गुरुङको भनाई छ ।

दुई वर्षदेखि रोकिएको कामले पुर्णता पाउँदा अर्घाखाँचीका बासिन्दा खुशी भएका छन् । लुम्बिनी प्रदेश सरकारले वन ऐन र नियमावली ल्याएर वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ ल्याएको कार्यक्रमले निरन्तरता पाउन भने जरुरी छ ।