
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । दलहरु प्रतिबन्धित भएका बेला नेताहरुको अभिव्यक्ति प्रकट गर्ने घाँटी बनेको विद्यार्थी राजनीतिक शैलीमा बद्लाव आउन नसक्दा विश्वासको संकट पर्दै गएको छ । गुणस्तरीय शिक्षाकाबारे सधै मौन रहने विद्यार्थी नेताहरुको शैलीप्रति विद्यार्थीकै विश्वास हराउन थालेको छ ।
संसददेखि मुलुकका थुप्रै कार्यकारी निकायमा विद्यार्थी नेताहरुको प्रभावकारी उपस्थित छ । संयोगले कोशी प्रदेशमा तीन अघिल्ला दुई मुख्यमन्त्री शेरधन राई, राजेन्द्रकुमार राई र वर्तमान मुख्यमन्त्री हिक्मत कार्की आफ्नो समयका चर्चित विद्यार्थी नेता हुनुहुन्छ । नेता जन्माउने स्वतन्त्र विद्यार्थी युनियनको राजनीति अब पहिलाजस्तो छैन ।
विद्यार्थी राजनीतिको आकर्षण रहेको त्रिभुवन विश्वविद्यालय प्रशासन राजनीतिक हस्तक्षेपका कारण आफैं घाइते अवस्थामा छ । अरु त अरु आफैंले निकालेको पात्रोअनुसार परीक्षा गराउने औकात विश्वविद्यालयसँग छैन । १४ वर्षदेखि निष्क्रिय स्वतन्त्र विद्यार्थी युनियनसंग न पहिलाको साख छ, न नयाँ पुस्तालाई समेट्ने रणनीति नै । यस्तो समयमा हुन लागेको युनियनको चुनावपछि आउने नेतृत्वको कार्यशैलीबारे अनगिन्ती प्रश्न छन् । यद्यपि उनीहरु विद्यार्थीको हितमा काम गर्ने प्रतिवद्धता जनाउन चुक्दैनन् । विद्यार्थी उम्मेदवारहरु विद्यार्थीको हक हितको लागि काम गर्ने बताउछन् ।
विद्यार्थी र विश्वविद्यालयको पुलको रुपमा स्ववियु संस्थाको परिकल्पना भएको हो । २०६५ सालपछि पहिलोपटक त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि विद्यार्थी संगठनहरु मतदाता प्रभावित गर्न जुटेका छन् । राष्ट्रिय राजनीतिमा आएको परिवर्तनसंगै स्ववियु चुनावमा पनि दलहरुको तालमेल बद्लिएको छ । गुट व्यवस्थापन नहुँदा कतिपय क्याम्पसमा बागी उम्मेदवार पनि उठेका छन् । काठमाडौं उपत्यकाका मुख्य क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, दोस्रो माओवादी निकट अखिल क्रान्तिकारी र अरु स्थानमा एकीकृत समाजवादी समर्थित अनेरास्ववियूबीच भागवण्डा भएको छ ।
स्ववियुको नेतृत्वसंगै भावी देशको राजनीतिक भविष्य जोडिएको हुन्छ । त्यसैले मुलुककै राजनीतिको नर्सरी मानिने स्ववियु नेतृत्व पारदर्शी, शिक्षामैत्री हुन आवश्यक छ । मतदाता पनि क्याम्पसको भौतिक सुधार र समग्र शिक्षाको उन्नयनमा लागि लडने नेतृत्व आफ्नो चाहना हुने बताउँछन् । विद्यार्थी मतदाताहरु वैचारीक राजनीतिक हुनुपर्ने बताउछन् ।
अबको विद्यार्थी नेतृत्वले विगतका कमजोरी सच्याएर सार्थक प्रयत्न गर्न आवश्यक छ । शिक्षा क्षेत्रमा हाबी राजनीतिकरण, बेरोजगार जन्माउने मानव जीवनसंग नजोडिएको शिक्षामा रुपान्तरण ल्याउन विद्यार्थी नेताहरुको अहं भूमिका देखिन्छ । दलीय स्वार्थका लागि टायर बाल्ने, हडताल गर्ने, मसाल जुलुस र तोडफोडमा उत्रिने शैलीले न विद्यार्थी राजनीतिको इज्जत रहन्छ, न देशको भविष्य नै । यसतर्फ उम्मेदवार र मतदाता सचेत हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्