
परासी । नवलपरासीको सुनवल नगरपालिकाका मेयर विमला अर्यालले आफूलाई अपमान गरेको लुम्बिनी प्रदेशका सभासद् खडक बस्नेतले गुनासो गरेका छन् ।
नगरपालिकाको स्थापना दिवसका अवसरमा सभासद् बस्नेतलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।
प्रमुख अतिथिका रुपमा बोलाइएका बस्नेतलाई अन्तिम समयमा रोक लगाइएको भन्दै सत्ता गठबन्धलगायतका दलहरुले स्थापना दिवस नै बहिष्कार गरेका छन् ।
बस्नेत नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ बाट निर्वाचित सभासद् हुन् । स्थापना दिवसका अवसरमा बस्नेतलाई उपमेयर सूर्य दुबेले प्रमुख अतिथिका रुपमा राखिएको भन्दै आमन्त्रण गरेका थिए ।
कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतलाई नगरपालिकाबाट प्रमुख अतिथि रद्द गरिएको भन्दै खबर आएपछि उनी बाटोबाट फर्केका थिए । स्थापना दिवस मनाउनुभन्दा एक दिनअघि मेयर अर्याल काठमाडौं थिइन् ।
सभासद् बस्नेतलाई प्रमुख अतिथि बनाउने भएपछि त्यसलाई रद्द गर्न लगाएर मेयर अर्याल हतार हतारमा एक दिनमै काठमाडौंबाट सुनवल आएको एक कर्मचारीले बताए । स्थापना दिवस मनाएर उनी पुन: काठमाण्डौं फर्केकी छन् ।
‘मलाई उपमेयरले फोन गर्नुभएको थियो । कर्मचारीले पनि तपाईको प्रमुख अतिथिको पत्र मसँग छ । बुझाउन आउँछु भनेका थिए । काठमाडौं भएकाले पत्र परेन म आउँछु भने । कार्यक्रमकै लागि राति काठमाडौंबाट आए तर कार्यक्रममा जान निस्केको बखत नगरपालिकाबाट प्रमुख अतिथि राख्ने कार्यक्रम रद्द भएको भन्दै फोन आयो’, सभासद् बस्नेतले भने ।
राजनीतिक पूर्वाग्रहीका कारण आफूलाई मेयर अर्यालले प्रमुख अतिथिमा बोलाइएपनि रद्द गर्न लगाएको बस्नेतले बताए । ‘प्रमुख अतिथि भनेर सबैलाई भनिएको थियो । पछि रद्द गर्दा म अपमानित भएको महशुस गरेको छु’ सभासद् बस्नेतले भने ।
सभासद् बस्नेत माओवादी निकट हुन् । पार्टीले टिकट नदिएपछि बस्नेतले स्वतन्त्रबाट सभासद् जितेका हुन् । मेयर अर्याल एमालेबाट निर्वाचित हुन् ।‘मैले सुनवलको खोला ठेक्कालगायत अन्य कामलाई नियम संगत गरौं भनेर भन्दै आएको थिए । त्यसैमा मेयर अर्याल मदेखि असन्तुष्ट बन्नु भएको हो । मेयर अर्यालले विभिन्न स्थानमा हुने कार्यक्रममा सभासद् सहभागी हुने भए आफू नआउने भन्दै हिड्नु भएको छ । जनप्रतिनिधि यसरी पूर्वाग्राही हुनु राम्रो होइन् ’ बस्नेतले भने । मेयर अर्यालले भने आफूले कही पनि त्यसो नभनेको दावी गरिन् ।
प्रतिक्रिया दिनुहोस्