८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले पिएनजीकाे सामना गर्दै

विश्वकपको ग्लोबल छनौटमा पुग्ने नेपालको लक्ष्य

104
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा साेमबार नेपालले पपुवा न्युगिनी (पिएनजी) को सामना गर्ने भएकाे छ ।

कीर्तिपुरमा रहेको टियु मैदानमा खेल साेमबार बिहान साढे ९ बजेबाट सुरु हुने भएकाे हाे । काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालको यो तेस्रो खेल हो । श्रृंखलामा लगातार दुई खेल जितेको नेपाल साेमबारको खेल जित्दै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना अझ बलियो बनाउन चाहन्छ ।

यसअघि आइतबारको खेल जित्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइसकेको छ ।आइतबारको खेलमा नेपालले युएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित निकालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रन अन्तरको हिसाबमा नेपालको यो सर्वाधिक ठूलो जित हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभर ५ बलमा अलआउट हुँदै ७१ रनमा समेटियो ।

नेपालका लागि ललित राजवंशीले ५ विकेट लिएका थिए । यो जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको हो । क्रिकेट क्रिकेटमा शीर्ष पाँचभित्र पर्ने टोलीको एक दिवसीय मान्यता जोगिने भएकाे छ । आइतबारको खेलमा पराजित भएपछि युएईको भने एक दिवसीय हैसियत संकटमा परेको छ ।

नेपालले श्रृंखलामा अब बाँकी रहेका दुवै खेल जितेको खण्डमा लिग–२ क्रिकेटको तेस्रो स्थानमा उक्लिनेछ । शीर्ष ३ वटा टोलीले जिम्बाबेमा हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्ने छन् । पुछारका ४ टोलीले भने ग्लोबल क्वालिफायरमा पुग्न प्ले अफ चरण खेल्नु पर्ने हुन्छ ।