
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका भू–उपयोग वर्गीकरण गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।
८ वटा स्थानीय तह रहेको जिल्लामा लिखुपिके गाउँपालिकाले पहिलो पटक जग्गा वर्गीकरणको काम सकेर मालपोत र नापी कार्यालयमा फायल पेश गरेको हो । १८ हजार ३ सय ५५.९३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पालिकाले करिब डेढ महिनाको प्रयासमा विभिन्न १० वर्गमा जग्गाको वर्गीकरण गरेको गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले बताउनुभयो । उहाँका अनुसार पालिकाले कृषि, बस्ती, खानी, जंगल, औद्योगिक र व्यवसाय लगायतको वर्गमा जग्गा वर्गीकरण गरेको हो ।
जिल्लामै लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट तथा अंश बण्डाकोे काम लिखुपिकेमा फुकुवा भएको मालपोत कार्यालय सोलुखुम्बुका मालपोत अधिकृत युवराज भुजेलले जानकारी दिनुभयो । वर्गीकरणमा अझै केही प्राविधिक त्रुटि भने भेटिएकाले थप अध्ययन भइरहेको नापी अधिकृत इन्जिनियर महेश थापाको भनाइ छ । जिल्लाको ८ वटा स्थानीय तह मध्ये हालसम्म थुलुङ दूधकोशी गाउँपालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुर्याएको छ ।
खुम्बु पासाङल्हामु, माप्यदुधकोशी र सोलुदूधकुण्ड नगरपालिकाले पनि वर्गीकरणको प्रक्रिया थालेको जनाएका छन् । नेपाल सरकारले ल्याएको भू–उपयोग नीति अनुसार स्थानीय तहहरुले आफ्नो पालिका क्षेत्रको जग्गा वर्गीकरणको कार्य पूरा गर्न नसक्दा लामो समयदेखि जग्गा कित्ताकाट तथा अंश बण्डाको कामहरु प्रभावित भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्