
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-६ सुङनाममा गत शनिबार वनमा लागेकाे आगो गाउँमा पस्दा १४ वटा घरहरू जलेर नष्ट भएका थिए ।
अग्निपीडित आगलागीमा परी स्थानीय पुष्पराज खड्काको घरसहित अन्नपात, लत्ताकपडा र भाडाकुडा जल्दा ९ लाख रुपैंया बराबरकाे क्षति भएको थियाे। सोही आगलागीमा परी प्रेमबहादुर तामाङको ८ लाख, चन्द्रबहादुर बुढाथोकीको ९ लाख र होमबहादुर बरुवाल, जानुका बरुवाल, सावित्रा डांगी बरुवाल, पूर्णबहादुर घोर्साने, खिलबहादुर खड्का, डम्बरबहादुर खड्का, चूडामणि खड्का, पिताम्बर घोर्साने, खड्गबहादुर तामाङ र परशुराम लिम्बुको जनही २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरले निकालेको क्षतिको विवरणमा उल्लेख गरिएकाे छ ।
यि सबै घर जल्दा ७९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले विवरण निकालेको छ । पुष्पराज खड्का, पञ्चबहादुर तामाङ, प्रेमबहादुर तामाङ र चन्द्र बुढाथोकीको घरमा मात्र मानिस बसोबास गरिरहेको र बाँकी १० घर भने बसाई हिंडेर खाली रहेका थिए । आगलागीका कारण घरमा रहेको अन्नपातसहित सम्पूर्ण धानमाल जल्दा आफन्तको शरणमा बस्दै आएको अग्निपीडिहरुको भनाइ छ ।
सुख्खा ग्रस्त क्षेत्रमा रहेको यो बस्ती वनको नजिकै रहेकाले धेरै घरमा क्षति पुगेको स्थानीयहरु बताउँछन् । आगलागी पिडितलाई जिल्ला रेडक्रम र लालीगुराँस नगरपालिकाले खाद्यन्न र लत्ता कपडा सहयोग गरेका छन् । जंगलसँग जोडिएका घरहरुलाई एक हप्तामा जस्तासँगै आगलागी पीडितहरुलाई सहयोग गर्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो।
सुख्खायाम सुरु भएसँगै जिल्लाका विभिन्न पालिकाहरुमा आगलागीका घटनाहरु बढेका छन् । आगलागी नियन्त्रण र यसबाट बच्नका लागि सरोकारवाला निकायहरूकाे ध्यान जान आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्