
काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबारदेखि वत्सलेश्वरी-बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले सोमवार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
कोषले मंगलबार साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो ।
चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ ।
यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने गरिन्छ ।
बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ ।
कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले यो जात्रालाई स्थानीय जात्रा भनेपनि यो मुलुकभर हुने जात्रा रहेको बताउनुभयो ।
उहाँले यो जात्रालाई कोषले मुलककै जात्राको रुपमा विकास गर्ने र जात्रा हेर्न आउने विदेशीहरुका लागि आवश्यक सहयोग र फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
जात्रा सञ्चालनका लागि परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोकत्वमा १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस्