
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता यही चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा नेपालसहित, भुटान र लाओस सम्मिलित हुने जनाएको छ ।
दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलेर उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।
फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा भने समावेश हुने छैन । प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग समेत कुरा भएपनि उनीहरूको समय नमिल्दा सम्भव नभएको एन्फाले जनाएको छ ।
एन्फाले प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ । एन्फाले टिकटका लागि ३० लाख र बजारका लागि ५० लाख न्यूनतम मूल्य तोकेर बोलपत्र आह्वान गरिएको जनाएको छ ।
प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने एन्फाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्