
काठमाडौं । प्राचीनकालमा दक्षिण कोलियग्राम हाल काठमाडौं वडा नं २१ मा रहेको यंगाल । विगतमा यही क्षेत्र थातथलो भएकालाई स्थानीयले मेयर र हाल उपमेयरमा जिताएका छन् । यति हुँदाहुँदै पनि झण्डै १४ सय वर्ष पुराना यो हिति उपेक्षित अवस्थामा छ ।
हिति सभ्यता हाम्रो पूर्खाको प्राचिन वैज्ञानिक ज्ञानको उपज हो । यसैबाट हामीले शुद्ध खानेपानीको उपभोग र भूमिगत पानी प्रणालीलाई व्यवस्थित गर्न सकेको थियो । प्राचीनकालमा दक्षिण कोलियग्राम, हाल काठमाडौं, यंगालमा रहेको यंगाः हिति उपेक्षित अवस्थामा रहेको छ ।
कुनै बेला कलकल पानी बग्ने र नित्य धार्मिक कार्यमा प्रयोग हुने लिच्छवीकालिन यंगाः हिति अहिले सुकेको छ । करिब १४ सय वर्ष पुराना हितिहरु छन् । दुईवटा १३ सय ८१ वर्ष पुरानो शिलालेख पानीमा डुबेको अवस्थामा रहेको छ । साथै अन्य देव देवीको मूर्तिहरु पनि बेहाल अवस्थामा रहेको छ ।
स्थानीयले अतिक्रमणमा पर्नबाट जोगाएर २०६५ सालतिर हितिको जिर्णोद्धार गरे पनि निकास पत्ता नलाग्दा हिति क्षेत्र पोखरीमा परिणत गएको छ । प्राचिनकालमा दक्षिण कोलियग्राम यंगालमा खुला रहेको हिति अहिले चारै तिरबाट अग्ला भवनले घेरिएर खुम्चिएको छ ।
यसै कारण हितिको भूमिगत पानी प्रणालीमा खलल पुगेको हुन सक्ने हितिको भूमिगत पानी प्रणालीका विज्ञहरुको दाबी छ । अहिले हितिसँगै ४० फिट बढी तल जमिनमुनिबाट कंक्रिटको संरचना निमार्ण गरी घर निर्माण हुँदैछ । अहिलेसम्म गहिरो ५ वटा पूर्वाधारको काम भइसकेको छ । यसका कारण हितिमा पानी पुनः झार्न प्रयास पूर्ण रुपमा अन्त्य हुने विज्ञहरुको भनाई छ । स्थानीय रघुराज राजभण्डारी यसको अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । यदी कंक्रिटको गहिरो संरचनाले हितिको अस्तित्व समाप्त हुन्छ भने यसलाई तत्काल रोक्नुपर्न राजभण्डारी बताउनुहुन्छ ।
पाटनमा आल्को हितिको भूमिगत पानी भण्डारणको जमिन स्थानीयले संरक्षण गरेपनि यहाँ भने यस्तो अभ्यास भएको पाइँदैन । विभिन्न समयमा भूमिगत पानी प्रणालीमा खलल पुग्ने गरि घर निमार्ण भएका छन् । चरम राजनीति र स्थानीय एकजुट हुन नसक्दाको परिणाम हो यो । अब उच्च इच्छा शक्तिका साथ स्थानीय मिलेर ऐतिहासिक हितिबाट पानी झार्ने स्थानीयको प्रतिवद्धता छ ।
पुरातत्व विभागले समेत यसको अध्यनन अनुसन्धानमा चासो देखाएको छैन । लिच्छवीकालिन हितिलाई बचाउने हो भने चर्को क्रान्तिकारी बन्नुभन्दा सम्वेदनशील भएर यस्ता मौलिक सम्पदाको संरक्षणमा जुट्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्