
कैलाली । डोटीमा जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित अदालत मोडमा मंगलबार जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको फोर्स जीप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएको उहाँले बताउनुभयाे । ५ जना सवार रहेको जीपमा ४ जना घाइते भएकाे उहाँकाे भनाइ छ ।
घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीय धौलीदेवी विष्ट, २४ वर्षीय दुर्गादेवी विष्ट, दिपायल सिलगढी नगरपालिकाका २९ वर्षीय टंक कुमारी उपाध्याय र दिपायल सिलगढी नगरपालिका-६ का मोटरसाइकल चालक विष्णु बोहरा रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। एक जना बच्चा सकुशल रहेकाे प्रहरी निरीक्षक जोशीले बताउनुभयाे । ओभर स्पिडका कारण जीप दुर्घटना भएको उहाँले बताउनुभयाे । जीप सडकदेखि ५० मिटर तल खसेको उहाँले बताउनुभयाे ।
जीप दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्