
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनता सामाजवादी पार्टी (जसपा)का बारा जिल्ला अध्यक्ष अजय पटेललाई नियन्त्रणमा लिएको छ ।
बारा जिल्ला परवानिपुर नगरपालिका ५ निवासी ४५ वर्षिय पटेललाई सिआइबीको टोलीले नियन्त्रणमा लिएको हो ।
पटेलले ६० करोड भन्दाबढी रकमको जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा सोही जिल्लाबाट सिआइबिको टोलीले पक्राउ गरेको हो ।
पटेललाई बारा वडा नम्बर ६ बहुअरीको कित्ता नम्बर ४ को ६ बिगाह वडा नम्वर ८ को कित्ता नम्बर १३४ को ३ बिगाह र कित्ता नम्बर १४८०,१०७८ र१४७९ गरि १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरि १० बिगाह र १५ कठ्ठा क्षेत्रफल रहेको जग्गाको नक्कली कागज बनाइ हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बिशालनगरका विजयमणि दीक्षितको नाम रहेको जग्गामा जनता समाजवादी पार्टीको झण्डा गाडि कब्जामा लिएर पोखरी खनि माछा पालन ब्यवसाय चलाउदै वार्षिक लाखौ कमाउदै आइरहेको थियो ।
जग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र जग्गा खरिद गर्न हेर्न जाँदा पटेलसहित आएको समूहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए ।
हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्