
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ ।
बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिसकिएको छ । चैत १ गते धार्मिक संघसंस्थाका प्रमुखहरुसँग, चैत २ गते महिला स्वयंसेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग, ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी, चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरु, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलबासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका छन् ।
उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकोले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
छलफलका क्रममा उठेका कुरालाई नीति कार्यक्रम र बजेटमा समावेश गरेमा राम्रा र आवश्यक योजनामा मात्रै बजेट पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्