१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतको विहादीलाई


208
Shares

पर्वत । राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि पर्वतको विहादी गाउँपालिकाले जितेको छ ।

मोदी गाउँपालिका–१ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवास नगरपालिकालाई लगातार २ सेटमा पराजित गर्दै विहादीले उपाधि हात पारेको हो ।

जितसँगै विहादी गाउँपालिकाले रु. १ लाख ५५ हजार ५ सय ५५ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय स्थान प्राप्त गरेको फलेवास नगरपालिकाले रु १ लाख ५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । तृतिय स्थान प्राप्त गरेको आयोजक मोदी गाउँपालिकाले रु ५५ हजार ५ सय ५५ रुपैया मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ भलिबल क्लबले हात पारेको छ । धादिङले अर्चलबोट भलिबल क्लबलाई २–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

जितसँगै धादिङले रु. ७७ हजार ७ सय ७७ प्राप्त गरेको छ भने दोस्रो भएकोे अर्चलबोटले रु. ४५ हजार ५ सय ५५ र तेस्रो मोदी–८ चित्रेले रु. २५ हजार ५ सय २५ हात पारेको छ ।

भलिबलसँगै रत्यौली गीत प्रतियोगिता, खुल्ला एकल नृत्य, शिक्षक हाजिरजवाफ प्रतियोगिता पनि सम्पन्न भएको मोदी गाउँपालिकाले जनाएको छ ।