
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनुभएको छ ।
सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो परियोजनाको सफल र शिघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तरगत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पार्नुभयो । यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भईरहेको स्मरण गराउँदै उहाँले नेपालले त्यसलाईं ठोस निष्कर्षमा पुर्याउन चाहेको समेत बताउनुभयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टिकरण दिनुभयो । उहाँले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताउनुभयो । मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैंत्रीपूर्ण र सुमधुर रहेको पनि दोहोर्याउनुभयो । नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले सो दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि गरेको उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्